FAQs Complain Problems

शंखरापुर नगरपालीकाको संक्षिप्त परिचय।

प्रदेश नम्बर ३ अन्तरगत काठमाण्डौ जिल्लाको पूर्वी क्षेत्रमा रहेको यस नगरपालिका २०७१ साल मंसिर १६ गते स्थापना हुँदा १५ वटा वडामा विभाजन गरिएको नगरपालिका २०७३ सालमा भएका स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नाङ्लेभारे गा.वि.स मिलाएर शंखरापुर नगरपालिका बनेको हो। हाल कुल ९ वटा वडामा वर्गीकरण गरिएको यस नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुर नगरपालिका गरिएको हो। कुल ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासंग जोडिएको छ । नेपालको राजधानी रहेको जिल्लामा रहेको नगरपालिका भएता पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको यस नगरको मुख्य विशेषताको रुपमा ऐतिहासिक सांखु शहर लगायत बज्रयोगिनि र शालिनदी रहेका छन । नगरपालिकाको कुल जनसङ्ख्या २७ हजार 2 सय २ रहेको छ जसमा 13633 पुरुष र 13569 महिला रहेका छन् ।

तामाङ, नेवार,  ब्राम्हण, क्षेत्री गुरुङ लगायतका जातजाति बसोबास गर्ने यस नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ । नगरपालिका भित्र प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार, माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, जनैपूर्णिमा, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा , योमरी पुर्णिमा, ल्होसार, मेनाङ मनाउने गरिएको छ।

 

.२ ऐतिहासिक पृष्ठभूमि

‘साँ दयाँ क्वे’ अर्थात् तिब्बतमुनिको देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो । ऐतिहासिक रुपमा  यो ठाउँलाई पहिले साँक्व भनिन्थो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता रहेको छ । तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाट लिएर गएको मान्यता रहदै आएको छ । साथमा कालिगड पनि लिएर गएका थिए । बाटोमा जुन ठाउँमा वास बस्यो, त्यहीँ गुम्बा बनाउँदै गएका थिए ।

साँखु बजारमा रहेका चार ढोकाको छुट्टै आफ्नै ऐतिहासिक महत्व रहेको छ ।साँखुमा चार ढोका छन् । हरेक ढोकाको फरक अर्थ र काम छन् । उत्तर पश्चिमको देव ढ्वाखा । यो ढोका देउता ल्याउन र लैजान मात्र प्रयोग हुन्छ । विशेषगरी, जात्राको समयमा देवता हिँडाइन्छ । उत्तरपूर्व सिढ्वाखा । यहाँबाट मुर्दा लैजानेबाहेक अरू काम गर्न बर्जित छ । दक्षिण पश्चिम, भौ ढ्वाखा । यसबाट दुलहीलाई स्वागत गरिन्छ । दक्षिणपूर्व म्हे ढ्वाखा । छोरी अन्माएर पठाइन्छ । चार ढोकाभित्रको बस्तीमा लगभग हजार घर छन् । यो ठाउँलाई हजार घरको देश पनि भनिने गरिएको यहाँका बुद्धिजीवीहरुको भनाइ छ । साँखुवासीको जात्रा मनाउने तरिका आफ्नै किसिमको छ । साँखुको परम्परा पाटन र भक्तपुरभन्दा फरक रहेको छ । जात्राका वेला ऋण उठाउन पाइन्न । झगडा गर्न पनि पाइन्न ।

 साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख छ । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो बिग्रियो । 

साँखुमा आठको संयोग पनि गज्जबको छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ ।यसरी बज्रयोगिनीले सबै बन्दोबस्त गरेपछि देशको नाम शंखरापुर र राजाको नाम शंखदेव राखिएको मनिशैलमा लेखिएको छ ।  

शंखदेव एक भाइ मात्र थिए । उनका एक मात्र छोरा मानदेव भिक्षु बने । उनी बज्रयोगिनीमै गएर लीन भएको विश्वास गरिन्छ । त्यसपछि राजगद्दी खाली भयो । अहिले पनि साँखुवासी प्रधान चुन्छन् । माधवनारायण भगवानलाई जसले बोक्छ, उही प्रधान चुनिन्छ । राजाको प्रतिनिधि भएर बस्छ । माधव नारायण स्वस्थानी वर्त एक महिना सम्म सालिनदिमा चल्ने मेला हो । माधवनारायणलाई पानीमा डुबाएपछि व्रर्त सुरु हुन्छ । एक महिनासम्म माधवनारायण शालीनदीमा बस्ने विश्वासका साथी त्यहीँ राख्ने परम्परा छ ।